धरान : नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस धरानका सभापति विवेक लिम्बुको नेतृत्वमा शारीरिक अशक्त तथा आर्थिक रूपमा विपन्न भएका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सचिव एंव नेविसंघका कार्यवाहक सभापति दोर्चि शेर्पाले जानकारी दिए अनुसार मोरङको केराबारी गाउँपालिका वडा नं. ५ का शारीरिक अशक्त तथा आर्थिक रूपमा विपन्न भएका परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

सभापति लिम्बुको नेतृत्वमा “राहत अभियान” कार्यक्रमको आयोजना गरी खाद्यान्न सामाग्री सहयोग गरिएको नेविसंघले जनाएको छ । शारीरिक अशक्त तथा आर्थिक रूपमा विपन्न भएका परिवारलाई प्रति परिवार चामल ५० केजी, दाल २ केजी, तेल २ ली, नुन २ प्याकेट, लुगा धुने साबुन आधा दर्जन, भाडा धुने साबुन आधा दर्जन, नुहाउने साबुन २ पिस सहयोग गरिएको स्ववियु सचिव एवम् कार्यवाहक सभापति शेर्पाले जानकारी दिए ।

सभापति लिम्बुले दैनिक ज्यालादारीमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवार तथा शारीरिक रूपमा समेत अशक्त भएका परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडिएको बताए । “लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि हामीले राहत अभियान चलाएका हौँ” लिम्बुले भने ।