धरान : नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति धरानले अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्न माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेको छ ।

कोरोना भाइरसको कारण अहिले विश्व नै आक्रान्त बनिरहेको अवस्थामा क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई अनलाइन कक्षाको नाममा ५० प्रतिशत शुल्क तिराउने निर्णय प्रति नेविसंघ क्याम्पस इकाई समिति धरानले ध्यानाकर्षण गराएको हो ।

कोरोनाको प्रभाव नेपालमा पनि अत्यन्तै विकराल रूपमा फैलिदैं गएको भन्दै दैनिक सयौँको सङ्ख्यामा कोरोना संक्रमित थपिएर दैनिक जीवनयापन गर्न नै कठिन रहेको विज्ञप्ति मार्फत नेविसंघले जनाएको छ ।

६ महिनाभन्दा धेरै लामो बन्दाबन्दी (लकडाउन)ले न्यून आय भएका अभिभावकलाई बिहान बेलुका हातमुख जोर्न समस्या भएको अवस्थामा दैनिक जनजीवन कष्टकर बन्दै गएको अवस्थामा महेन्द्र बहुमुखी क्याम्पस धरानले सेमेस्टर प्रणालीको विभिन्न तहहरू एम.वि.एस, एमए, एम.एड, बि.बि.ए, बिबिए सम्बन्धी शुल्कहरू ५० प्रतिशत तिरेर अनलाइन कक्षामा सहभागी हुन भन्ने निर्णय प्रति नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइन कक्षा अहिलेको समयमा अत्यन्त महत्त्वपूर्ण, उपयोगी र आवश्यक भएको अवस्थामा कुनै पनि शुल्क नलिई अनलाइन कक्षा सञ्चालन गर्न नेविसंघले माग गरेको छ । विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै शुल्क तिर्न लगाउने निर्णय तत्काल सच्याउन समेत माग गरेको छ । यसै गरी नेविसंघले अनलाइन कक्षामा सहभागी हुने सेमेस्टर तहका विद्यार्थीहरूलाई कुनै शुल्क नतिर्न आग्रह गरेको छ ।

क्याम्पस प्रशासनले गएको शुक्रवार एक सूचना जारी गरी भदौ २८ गतेदेखि पेइङ्ग अन्तर्गतका, अनलाइन कक्षाहरू सञ्चालन गर्ने र विद्यार्थीहरूलाई ५० प्रतिशत शुल्क नेपाल बैङ्क लिमिटेडमा जम्मा गर्न र बाँकी रकम फारम भर्दा बुझाउन सूचित गरेको थियो । उक्त निर्णय नसच्याएसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी जारी रहने नेविसंघले चेतावनी दिएको छ ।

Nebisangh-1