धरान : विराटनगरमा होम आइसोलेसनमा बसेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत विराटनगर महानगरपालिका– १० का ७६ वर्षिय वृद्धको मृत्यु भएको हो ।  ११ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएका वृद्ध होम आइसोलेसनमा बसेका थिए । विराटनगरमा बेड अभावमा संक्रमित होम आइसोलेसनमा बस्न बाध्य छन् । वृद्धको अवस्था गम्भीर बनेपछि शनिवार राति कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।

वृद्धमा उच्च रक्तचापको समस्या थियो । होम आइसोलेसनमा श्वासप्रश्वासमा समस्या भएपछि गम्भीर अवस्थामा अस्पताल आइपुगेका वृद्धलाई भेन्टिलेटर मा राखिएको थियो । भेन्टिलेटर मा उपचार गर्ने क्रममा आज बिहान साढे ३ बजे मृत्यु भएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।