धरान : प्रदेश १ मा अहिले सम्म १ लाख ८ सय ६० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएका छ । परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ ।