धरान : निरन्तरको लकडाउन र कोरोनाको कारण निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरूलाई विद्यालयहरूले तलब नदिँदा परिवार चलाउन नै समस्या भएको भन्दै आज धरान उपमहानगरपालिकामा संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले निवेदन दिएका छन् ।

चैत अघिको २० प्रतिशत विद्यालयहरूले अझै तलब नदिएको र झन् लकडाउनमा वैशाख देखि यता कुनै पनि निजी विद्यालयहरूले शिक्षकहरूलाई तलब नदिएको भन्दै न गरी खानु न मरी जानु भन्दै आफूले पाउने तलब पाउनुपर्ने पाउनुपर्ने माग गर्दै निवेदन दिएका हुन् ।

निजी विद्यालयका शिक्षकहरूले तलब पाउनुपर्ने भन्दै गएको असार १९ गते संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले देशव्यापी आन्दोलन गर्‍यो । त्यस पछि साउन ७ गते तलब पाउनु पर्‍यो, बाँच्ने आधार दिनु पर्‍यो भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाए । यसै गरी निजी विद्यालयहरूको सङ्गठन प्याब्सन, एनप्याव्सन सँगै वैशाख देखि यताको तलब साउन २५ गते भित्रमा दिने सहमति पनि भयो । प्याव्सन एनप्वाव्सनले शिक्षकहरूलाई विद्यालयमै बोलाएर तलब दिने गरी सहमति भएको थियो । त्यो सहमति समेत अहिले सम्म पनि कार्यान्वयनमा नआएकोले आफूहरूले आज धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीलाई निवेदन बुझाएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सुनसरीका कोषाध्यक्ष आकाश भाटीले बताए ।

निवेदन बुझ्दै उपमेयर मञ्जु भण्डारी सुवेदीले संस्थागत विद्यालयका शिक्षकहरूको समस्यालाई सम्बोधन गराउन आफूले पहल कदमी गर्ने प्रतिबद्धता जनाए । निवेदनमा यो समस्यालाई समाधान गर्नका लागि आवश्यक निगरानी र भूमिका निर्वाह गरी दिन स्थानीय निकायलाई आग्रह पनि गरिएको छ ।

Estuu