धरान : जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधान सहित मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरेको छ ।

आज देखि लागू हुने गरी जिल्लाभरि २८ भदौसम्म निषेधाज्ञा थप गरेको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार विराटनगर सहित बजारहरूमा स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरेर साँझ ७ बजेसम्म खुला गर्न पाइनेछ ।

आज सम्म दिउँसो ४ बजेसम्म मात्र बजार खोल्न पाउने नियम थियो । जिल्लाभर सार्वजनिक सवारी साधनमा लागेको प्रतिबन्ध भने यथावत छ । निजी सवारी सञ्चालनका लागि यसअघि लाग्दै आएको जोर बिजोर प्रणाली हटेको छ ।

सिटी सवारी सञ्चालनमा भने जोर बिजोर नियम लागू गरिएको छ । दुई जना मात्र यात्रु बोक्न पाउने गरी सिटी सफारीमा जोर बिजोरको नियम लागू भएको हो । निषेधाज्ञा अवधिभर ब्युटी पार्लर, सिनेमा हल, जिम खाना, सैलुन बन्द हुनेछन् । होटल तथा रेस्टुरेन्टमा ‘टेक अवे’ नियम लागू गरिएको छ ।