धरान : धरान २० स्थित भालुढुंगा सामुदायिक वनमा अवैधरुपमा सालको रुख काटिएको घटनाको अनुसन्धान गर्न डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेको छ ।

गएको शुक्रवार भालुढुंगा सामुदायिक वनमा काटिएको सालको रुखको मुचुल्का उठाई घटना स्थलको निरीक्षण र सुरुवाती अनुसन्धान पछि सब डिभिजन वन कार्यालय विष्णुपादुकाले जिल्लामा प्रतिवेदन बुझाए पछि अनुसन्धान अधिकृत आइतबार तोकिने बताइएको थियो । तर एक दिन ढिलो आज सो घटनाको बृस्तित अनुसन्धान गर्नका लागि सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र यादवलाई अनुसन्धान अधिकृत तोकिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख ज्ञान कुमार लामाले बताए ।

आफूले सोही बन क्षेत्रकै प्रमुखलाई अनुसन्धान अधिकृत तोकिदिएकोले अव भालुढुंगा सामुदायिक वनको सालको रुख काटिएको विषयमा घटनाको विस्तृत अनुसन्धान हुनेछ निमित्त प्रमुख लामाले भने । अनुसन्धान अधिकृतलाई अनुसन्धानको लागि बन कार्यालयका अरू कर्मचारीले पनि सहयोग गर्न भनेर पत्रमा लेखेको बताउँदै नियम पूर्वक अव अनुसन्धान सुरु हुने उनले बताए ।

भालुढुंगा सामुदायिक वनमा धरानका मेयर तिलक राईको निर्देशनमा वन समूहका कोषाध्यक्ष भीम बस्नेतको रोहबरमा काँचो सालको रुख काटिएको आरोप लगाउँदै वन समूहका अध्यक्ष बुद्धिमान तामाङले सब डिभिजन वन कार्यालय विष्णुपादुकामा उजुरी दिएका थिए । त्यस लगत्तै रुख काट्ने सहयोगी ४ जनाको नाममा उजुरी हालेका थिए । यसै गरी हिजो भालुढुंगा सामुदायिक वन समूहको बैठक बसेको थियो । बैठकमा अध्यक्ष बाहेक अन्य ८ जना सदस्यले रुख कसले काटेको हो थाहा नभएको र खोजी भइरहेको बताएको अध्यक्ष बुद्धिमान तामाङले बताए । उनले भने “म एक्लो भए अरू सबै विपक्षी भए ।” उनीहरूले रुख काट्ने को हो खोजी भइरहेको भन्दै बैठकमा माईन्युट नै गरेका छन् । यसै गरी यता मेयर तिलक राईले पनि केही दिन अघि रुख काटेकोमा आफ्नो नाम मुछिएको विषयमा एक विज्ञप्ति जारी गरी रुख आफ्नो निर्देशनमा नकाटेको भनेका छन् । उनले आफूलाई सुनियोजितरुपमा फसाउने षडयन्त्र गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अनुसन्धान अधिकृत तोकिए पछि मान्छे पक्रिएको अवस्थामा हो भने २५ दिन भित्र अनुसन्धान गर्नुपर्ने र पक्राउ परेको छैन भने नियमपूर्वक अनुसन्धान अधिकृतले अनुसन्धान गर्नुपर्ने नियम रहेको छ । जिल्लाबाट आफू अनुसन्धान अधिकृत तोकिएको बारेमा पत्र पाई नसकेको बताउँदै अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउने प्रमुख राजेन्द्र यादवले कपुरी न्युजलाई बताए ।