धरान : प्रदेश १ का प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रहरीले भने आधिकारिक रूपमा पुष्टि गरेको छैन । आज सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सङ्क्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा रहेको छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिए पछि उनले हिजो बिहान कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पोजेटिभ आएको मन्त्रालय स्रोतले बताएको छ । सङ्क्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेसनमा बसेको बताइएको छ । तर यस विषयमा बुझ्न खोज्दा टेलिफोन नउठाएका कारण उनीसँग सम्पर्क हुन सकेन ।

विराटनगरकै बासिन्दा भए पनि उनले स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिका–१६ भनेर ठेगाना टिपाएका छन् । उक्त ठेगाना उनी कार्यरत रहेको विराटनगरको रानीस्थित प्रदेश प्रहरी कार्यालयको हो ।
प्रदेश प्रहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले डिआइजी कार्कीको रिपोर्ट पोजेटिभ आएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन् ।