इटहरी : स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस परित्याग गरी तत्कालीन नेकपा एमाले प्रवेश गरेका हेमनारायण चौधरी पुनः पार्टी प्रवेश गरेका छन् । इटहरी-७ का चौधरी सहितको नेता स्थानीय निर्वाचनको बेला तत्कालीन नेकपा एमाले प्रवेश गरेका थिए ।

पहिला वडा सभापति हुँदा पार्टी परित्याग गरेका उनलाई पुनः वडा सभापतिकै जिम्मेवारीमा मङगलबार पार्टी प्रवेश गराइएको हो । नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति कोबिदजंग कार्कीले उनलाई खादा र माला ओढाएर पुनः पार्टीमा स्वागत गरेका हुन् ।

कार्यवाहक सभापति कार्कीले चौधरीको पुनरागमनले पार्टीलाई ऊर्जा मिलेको समेत बताए ।

उता चौधरीको पार्टी प्रवेशले दुर्घटना निम्तिन सक्ने इटहरी काँग्रेसका युवा नेता विकास केसीले बताए । हिजो पार्टी छोडेर जानेहरू लाई फेरि पार्टीमा फर्काउने अभियान निकै राम्रो भए पनि पार्टीले टिकट नदिएको झोक मा अर्को पार्टी प्रवेश गर्नेहरूले पार्टीमा काम गर्लान् भनेर विश्वास गर्ने अवस्था नरहेको उनको बुझाइ छ ।

अधिवेशन नजिकिँदै गरेको अवस्था मा स्थानीय निकाय, सङ्घ र प्रदेश को चुनाव जित्न सहमति सहकार्य र एकताका साथ सहमतिमै अधिवेशन गर्ने अधिकांश क्रियाशील सदस्यहरूको अभिमत विरुद्ध गुटबन्दी भएको उनको भनाइ छ ।

उनले भने 'निर्वाचित वडाध्यक्ष, क्षेत्र सदस्य ,नेबिसंघ, तरुण दल लगायत भातृसंस्थाहरु तथा इटहरी काँग्रेसका जिम्मेवार नेताहरू लाई खबर नै नगरी हिजो पार्टीको चुनाव हराउन सघाउनेलाई पार्टीमा फर्काएर समानान्तर समिति जस्तो बनाएर जिम्मेवारी बाँडिएको प्रति दुःख व्यक्त गर्दछु ।'

यो काँग्रेस जिताउने अभियान हाे की हराउने ? यसै गरी वाड हुँदै भोलि नगर समिति समेत समानान्तर आएमा को जिम्मेवार हुने? उनको प्रश्न छ ।