धरान : प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरूलाई थप रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्न पालिका तथा अस्पतालहरूलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ ।

मोरङका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ । इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ ।

सुनसरी जिल्लाको क्वारेनटिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।

स्थानीय पालिकाहरूको आवश्यकता र माग बमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्रीको भनाई छ ।