धरान :  धरान-११ की २२ बर्षीया सिंगापुरे लाहुरेकी श्रीमती सोनिहाङ्मा लिम्बुको मृत्यु शङ्कास्पद भएपछि केटी पक्षले दिएकाे जाहेरीका आधारमा केटा पक्षबाट पक्राउ परेका ४ जनाको आज म्याद थप भएको छ ।

२४ गते पक्राउ परेका केटा पक्षका ६१ वर्षीय भीम माबो, २८ वर्षीय सन्जु माबो, २५ वर्षीय विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरीएकाे इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

धरान-११ को कल्याण चोकमा लकडाउनमा सिंगापुरे लाहुरे आइत माबो सँग विवाह गरेकी सोनीको शव केही दिन अघि कोठामा मृत अवस्थामा फेला परेको थियो । आइत माबो हाल सिंगापुरमै रहेका छन् ।

माइती पक्षबाट सोनिको हत्या दाबी गरी निष्पक्ष छानबिनको माग गरेका छन् । केटा सिंगापुर फर्किसकेकाले केटी घरमा एक्लै हुँदा परिवारमा मनमुटाब रहेको र केटाको परिवारले स्वीकार नगरेको हुँदा सोनीको हत्या भएको माइती पक्षको आरोप छ ।

मृतक सोनीहाङमा आज पोस्टमार्टम गरी धरान-१४ खत्री धारामा दाहसंस्कार गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ । जिल्ला अदालत सुनसरीले १० दिनको म्याद थप गरेपछि यो अवधिमा घटनाको बारेमा केही न केही पत्ता लाग्ने प्रहरीले बताएको छ ।