धरान : धरान-२० भालुढुंगा वन समूहमा काटिएको सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना जनप्रतिनिधिको रोहवरमा छुटेका छन् ।

पक्राउ परेका उनीहरूको बयान सकिए पछि जनप्रतिनिधि धरान-१९ का वडाध्यक्ष पूर्ण लिम्बुको रोहवरमा छुटेको सब डिभिजन वन कार्यालय बिष्णुपादुकाका प्रमुख राजेन्द्र यादवले बताएका छन् । वन कार्यालयले रुख कटान गर्न लगिएका भनिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम्बु, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई पक्राउ गरेको थियो । उनीहरूको नाम किटान गरेर भालु ढुङ्गा सामुदायिक वन समूहका अध्यक्ष बुद्दीमान तामाङले वन कार्यालयमा जाहेरी दिएका थिए ।

रुख कटान प्रकरणमा पक्राउ परेकाहरूलाई तरहरा स्थित वन कार्यालयमा हिरासतमा राख्ने स्थान भए पनि एउटा मात्रै कोठा भएकोले अहिलेको कोरोना सङ्क्रमणको जोखिमको कारण उनीहरूलाई बयान लिएर जनप्रतिनिधिको रोहवरमा छाडिएको प्रमुख यादवले बताए ।

रुख काटेको अभियोगमा पक्राउ परेका ४ जना मध्ये २ जनाले मात्रै बयान दिएको बताइएको छ । दुई जनाले आफू रुख काट्न नगएको र कसरी हाम्रो नाम वन समूहका अध्यक्षले किटान गर्‍यो भन्ने प्रश्न गरेको बताइएको छ ।

धरानका मेयर तिलक राईको निर्देशनमा वनमा सालको रुख काट्न लगाइएको भन्दै वन समूहका अध्यक्ष तामाङले जाहेरी दिएकोमा दुई जना बयान दिनेले मेयरको नभई बन समूहका कोषाध्यक्षले काट्न लगाएको भनेका छन् ।

रुख काट्नेको बयान सकिएको र बयानको अनुसन्धान अव सुरु हुने डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख ज्ञान कुमार लामाले बताए । अव वन ऐनको प्रचलित कानुन अनुसार अनुसन्धान र कारबाही अगाडी बढाउने बताईएको छ ।