विराटनगर : विद्याभूमि स्कुल (+२) ले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ ।

प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्ट्स) र हस्पिटालिटी म्यानेजमेन्ट विषय यस वर्षदेखि थप गरिएको जानकारी दिए ।

विगत ४ वर्षदेखि होटेल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिजम अध्ययन गराउँदै आएको विद्यालयले यस वर्षदेखि पूर्वमै पहिलो पटक फेशन डिजाइन र कुलिनरी आर्ट्स र हस्पिटालिटी म्यानेजमेन्ट थपेर होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बनाइएको उनका भनाइ छ ।

विद्यालयका प्राचार्य पराग ढुङ्गानाले यस वर्षदेखि व्यवस्थापनका अन्य विषयमा पनि अध्ययन गराउने बताउँदै विद्यार्थीलाई पढाइका साथै व्यवहारिक शिक्षा दिने बताए । उनले विद्यार्थीलाई सीप मूलक शिक्षा र रोजगारी मूलक शिक्षा दिँदै, व्यवसाय र रोजगारीका अवसरहरू पहिचान गर्न, उच्चशिक्षा छनौट गर्न र रोजगारमा जोडन मद्दत गर्ने बताए ।

व्यवस्थापन सङ्काय प्रमुख केशव न्यौपानेले पढाइका क्रममा आफूले युरोपमा देखेका र भोगेका सिकाइ तथा प्रविधिहरू विद्यार्थीलाई बाढ्ने साथै रोजगारी तथा उद्यमशीलतासँग जोडन यी कोर्स तथा विषयहरूलाई उपयोगी बनाउने बताए । यस्तै फेशन डिजाइन प्रशिक्षक शिक्षा श्रेष्ठले यो कोर्सले विद्यार्थीलाई उद्यमी बनाउने र नेपालको फेशन जगतमा नयाँ आयाम थप्ने बताए । उनले कोर्स सके पछि देश तथा विदेशमा रोजगारी, इन्टर्नसिप र उद्यमी हुन चाहनेका लागि पनि प्रशस्त सम्भावना रहेको जानकारी दिए ।

विगत ४ वर्षदेखि होटेल म्यानेजमेन्ट र पर्यटन अध्यापन गराइरहेको विद्यालयले विद्यार्थीका लागि अभ्यास गर्न प्रशस्त व्यवस्था गरिरहेको र त्यसले विद्यार्थीमा सैद्धान्तिक भन्दा व्यवहारिक सीप विकासमा जोड दिएको होटेल व्यवस्थापन सङ्काय प्रमुख विश्वराज पन्तले बताए ।

विद्यालयका निर्देशक गुणानन्द महतोले अहिले विश्व नै कोरोना भाइरस (कोभिड-१९) बाट आक्रान्त भएको अवस्थामा विद्यार्थीलाई सहज बनाउन फेसन डिजाइनमा ५० प्रतिशत र अन्य सबै विषयमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।