धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित परुषको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार रामधुनी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुषको आज दिउँसो साढे ४ बजे मृत्यु भएको हो । मृतक विगत एक वर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको बताइएको छ । उनलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाइ भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई इनरुवास्थित जिल्ला अस्पतालले प्रतिष्ठानमा रिफर गरेर पठाएको थियो । उनी आज बिहान ११ बजेर ५४ मिनेटमा इमर्जेन्सीमा भर्ना भएका थिए । आज नै उनलाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।