धरान : घटना नम्बर १
सुनसरीको देवानगंजमा मिथुन उरावको हत्या ५ हजार दिएर उनकै सासू छवनीले गर्न लगाइन् ।

घटना नम्बर २

धरान १८ को कान्तिपुर होटलमा साउन २६ गते जबरजस्ती भिडियो प्रकरणमा केटीले नगद २ हजार लिएको र २ युवाले ३ लाखमा सो भिडियो बार्गेनिङ गरे ।

घटना नम्बर ३
पथरीमा आफ्नै काकाले २ लाख कमाउन भतिजी अपहरण गरी काठमाडौँ लैजाँदा काभ्रेबाट भदौ १७ गते २१ वर्षीय सुजन रणपहेली पक्राउ परे । उनलाई सहयोग गर्ने दुइवटा एम्बुलेन्स पनि पक्राउ परे । अबोध बालिकालाई जबरजस्ती गरी लैजाँदा प्रहरीलाई खबर गर्नुको सट्टा दुवै एम्बुलेन्स चालकले २० ,२० हजार भाँडाको प्रलोभनमा अपराधीलाई सहयोग गरेको देखिन्छ ।

घटना नम्बर ४
हेटौडा मकवनपुरमा रुपेन्द्र थापाको सडक दुर्घटनामा मृत्यु भयो । सडक दुर्घटनाको क्षतिपूर्ति र बिमाको रकम गरी ३८ लाख २८ हजार आउने भएपछि पैसाकैलागि रुपेन्द्रकी श्रीमती सुस्मिता थापालाई क्रूर मानसिक यातना दिँदै ससुरा ,सासू र २ नन्द मिलेर हत्या गरेको प्रहरीले निष्कर्ष निकाल्यो ।

यी माथि उल्लेख गरिएका घटनाहरू जस्तै आपराधिक गतिविधि पछिल्लो समय समाजमा बढ्दै गएको छ । यी घटनाहरू सबै पैसाकै कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी प्रधान कार्यालयका एसपी विश्व अधिकारीका अनुसार विभिन्न प्रकारका अपराधलाई हेर्दा अपराधको प्रमुख कारण आर्थिक (पैसा) हो । उनका अनुसार मान्छेले लगनशील ,अनुशासित र परिश्रमपूर्वक पैसालाई आर्जन गर्नु भन्दा आफ्नो खुसी,सम्बन्ध र सहज जीवन यापनको रूपमा पैसालाई पहिलो महत्वकाँक्षी प्राथमिकता दिनाले घरेलु तथा सामाजिक अपराध बढेको हो ।

मोरङ जिल्लामा यसअघि प्रहरी हुँदा धेरै फरार अभियुक्त पक्राउ गरेका एसपी अधिकारी भन्छन् “ चिनजानको घनिष्ठ मित्रताले क्रूर शत्रुता सृजना गर्छ” । विराटनगरमा माँ देवी पाथीभरा फार्मेसीका सञ्चालक देवी प्रसाद दुलालको हत्या उनकै श्रीमती मिनाले सँगै सुतेका श्रीमानको हत्या योजना बनाई हत्या गरिन् । अन्य मतियार देखिएका छन् । प्रेम सम्बन्ध एउटा कारण मात्र हो । यसको पछाडि व्यवसायी पतिको सम्पत्ति हात पार्ने मिनाको ठुलो दाउ थियो । प्रहरीको तथ्याङ्कमा सम्पत्तिकै सेरोफेरोमा अपराध गर्नेहरू दजनाै छन् भने धेरै आफन्त नै जोडिएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत भन्छन् “जहा अभाव हुन्छ त्यहाँ दबाब हुन्छ ।” अपराध गर्नेहरू धेरै लागु औषध प्रयोगकर्ता रहेका छन । लागुऔषध प्रयोगकताहरुका लागि “लत सङ्गत एउटा दलदल अवस्था हो । जहाँ पस्नु सजिलो हुन्छ त्यहाँबाट निस्किन गाह्रो हुन्छ ।” लतमा फसेकाहरूले अनेक औषधी प्रयोग आदत पुरा गर्ने पैसाको अभाव हुँदा माग्ने, नदिएमा उनीहरूले आमा बुवा श्रीमती चिन्दैनन् र हत्या गर्ने गर्दछन् । आपराधिक कर्म गर्न लागु औषधले धेरैलाई प्रेरित गरेको देखिन्छ ।

पहिला समाजमा आपराधिक क्रियाकलापका घटना नभएका हैनन् तर, पछिल्लो समय यसको ग्राफ दिनदिनै चुलिइरहेको छ । बढ्दो जनसङ्ख्या,बेरोजगारी, गरिबी र नैतिकतामा ह्रास आउनु मात्र यसका कारण हैनन् । अत: रातारात धनी बन्ने चाहानाले गर्दा पनि अपराधलाई आमन्त्रण गर्छ । यसको परिणाम अपराध गर्नेहरूको सङ्ख्या वृद्धि हुनु हो ।

धेरै सम्पत्ति कमाएर छिटो धनी बन्ने अहिलेको जो कोहीको सोच हुन्छ । सम्पत्ति हरेक चिजको आवश्यकता बन्दै गएको छ । सामान्य सम्पत्ति भन्नाले नगदी वा स्वामित्व हस्तान्तरण गर्न सकिने सबै किसिमका चल वा अचल सम्पत्ति बुझिन्छ । बढ्दो प्रविधिको विकास सँगै सम्पत्तिले जघन्य आपराधिक क्रियाकलापको वृत्ति र प्रवृत्तिको ढङ्गमा परिवर्तन ल्याएको छ । अर्को शब्दमा सम्पत्ति यस्तो चिज हो । जसले लोभ क्रूरता हत्या, हिंसा,बलात्कार र आतङ्कवादीको सञ्जालबाट आज संसारको कुनै पनि मुलुक अछुतो छैन । नेपाल यस अघि शान्तिपूर्ण मुलुकका रूपमा परिचित थियो । विगत १ दशकमा त्यो चिनारी बदलिएको छ । बिहान घरबाट सकुशल निस्केको मानिस बेलुका घर फर्कने हो कि होइन भन्ने आशङ्का हुन्छ ।

अपराध हामी सबैले जानेको वा बुझेको विषय हो । सुन्दा आङ सिरिङ्ग हुने गर्छ । कसैले कसैलाई नहोस् भनेर कामना गरिने शब्द पनि हो । कानुन विपरीत कार्य गरेमा अपराध मानिन्छ । व्यक्तिमा जब दुराशययुक्त मनसाय, लापरवार्ही, दुर्घटना, हेलचेक्र्याइँ, रिस, कुनै कुरामा लत बस्नु र लोभ हुनु जस्ता तत्त्वले अपराध बढ्नुमा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । शरीरमा प्राण छउन्जेल रोग लाग्ने सम्भावना हुन्छ । त्यसै गरी मानव समाजमा रहेसम्म अपराध हुने सम्भावना रहिरहन्छ । अपराध निमूर्ल भएका समाजको परिकल्पना गर्नु आजका दिनमा कठिन नै हुन्छ ।

प्रहरीको अनुसन्धानमा खुलेका केही आपराधिक क्रियाकलापका कारणहरू सम्पत्ति बनेका छन् । सम्पत्ति र अपराधको अन्योन्याश्रित नाता रहेको पाइन्छ । सम्पत्तिले दलाल पुँजी जन्मायो । यही सम्पत्तिको नाममा र सम्पत्ति हत्याउने दाउमा थुप्रैले अनाहकमा ज्यान गुमाइरहेका छन् । यसले गर्दा समाज दिनानुदिन आपराधिक गतिविधिले व्याप्त बन्दै गइरहेको छ । यसबारेमा सचेत र सजग रहनु आजको आवश्यकता बनेको छ ।