झापा : झापा जिल्ला त्यसमाथि दमक नगरपालिका, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर । यसो भन्ने बित्तिकै धेरैले दमकमा त निक्कै विकास भएको होला भन्ठान्छन् । तर यहाँको वास्तविकता अर्कै छ।

जब बर्षायाम सुरु हुन्छ तब झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा र मावा खोला किनारका नागरिकमा निक्कै ठुलो चिन्ता सुरु हुन्छ । बर्षौ अघिबाट रतुवा र मावा खोलामा आउने बाढीबाट सास्ती खेप्दै आएका यस क्षेत्रका नागरिक बर्षायाम सुरु भएसँगै निकै त्रसित समेत बन्ने गर्दछन् । रतुवा र मावा खोला किनारका सर्वसाधारणहरुले यो समस्या भोगेको दशकौँ बित्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नु अघि नै पटक पटकको चुनावी सभामा भन्ने गरेको अब रतुवा नदीको पाता फर्काइन्छ भन्ने चुनावी नारा सम्झिएर यहाँका नागरिक रिसले आगो हुने गर्छन् ।

रतुवा र मावा नदीले बर्षौ अघिबाट धार परिवर्तन गर्दै दमक-१० का दर्जनौँ स्थानमा क्षति पुर्याउदै आएको छ । कतिलाई त विस्थापित बनाउनुका साथै सयौँ हेक्टर खेती योग्य जमिन बालुवामा परिणत गराउने गरेको छ। दशकौँ अघिबाटै यो समस्याको दिगो समाधान खोजी रहेका यस क्षेत्रका सर्वसाधारणहरू फेरि अर्को समस्या भोग्न बाध्य हुनु परेको छ ।

रतुवा र मावा खोलामा आउने बाढीले माथिल्लो क्षेत्रमा खोला किनारमा बिर्सन गरेको फोहोर मैला धान खेतीसम्म पुर्याईदिदा यहाँका नागरिक तथा किसानमा अर्को पिर थपिदिएको छ । यस क्षेत्र भन्दा उत्तरमा रहेका ठुला दुई सहर दमक र मोरङको उर्लाबारी नगरपालिकाले ढलको निकास सिधै रतुवा र मावा खोलामा गराई दिँदा तल्लो क्षेत्रका सर्वसाधारण अहिले यसको असर खेप्न बाध्य हुनु परिरहेको छ ।

सहरी क्षेत्रमा रहेको बजार पसल तथा अस्पतालजन्य फोहोरहरू समेत सिधै यी नदीहरूका विसर्जन गरिदिँदा अहिले दमकको तल्लो क्षेत्रका उर्वर भूमिमा नराम्रो असर गरिरहेको स्थानीय किसान नवराज सुवेदीले गुनासो गरे । रतुवा खोलामा आएको बाढी उकास भएर खेती योग्य जमिनमा प्रवेश गरे सँगै खोलामा बगेर आएको फोहोरले धान खेत पुरै ढाक्ने गरेको सुवेदीले सुनाए ।

Phohor ratuwa 2

अहिले यस क्षेत्रका धेरै किसानका खेतमा प्लास्टिक तथा अस्पतालजन्य फोहोरले ढाकेको छ । बाढीले खेतमा फोहोरजन्य बस्तु थुपारिदिँदा हिउँदको समयमा ती फोहोर व्यवस्थापन गरेर अर्को खेती गर्न निकै चुनौतीपूर्ण हुने गरेको अर्का स्थानीय किसान योगचन्द्र रिजालको गुनासो छ । रिजाल भन्छन् “हामीले यो समस्या भोगेको बर्षौ भयो तर यसको स्थायी समाधान अझै हुन नसक्दा केमिकल युक्त, प्लास्टिक जन्य तथा अस्पतालबाट विसर्जन गरिएका स्लाईन, तथा सिरिन्जहरू हात खुट्टामा घोच्ने गरेका कारण सङ्क्रमणको अति नै जोखिममा छौँ ।”

यता दमक नगरपालिकाले बजार क्षेत्रको फोहोरलाई बेलडाँगीमा रहेको फोहोर प्रशोधन केन्द्रमा पुर्याउने गरेको भए पनि त्यसको अझै उचित व्यवस्थापन गर्न नसक्दा रतुवामा आउने ठुलो बाढीले पुन त्यो फोहोरलाई दक्षिणी क्षेत्रमै पुर्याउने गरेको जनगुनासो छ ।