धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ मा मृत अवस्थामा फेला परेकी बालिका मिना राईको हत्या भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मृतक बालिकालाई स्थानीय एक १५ वर्षीय बालकले हत्या गरेको खुलेको छ । असोज ९ गते शुक्रवार राती मृतक मिना राईकी आमा बिरामी भएको हुँदा आफ्नो घर भन्दा करिब २,३ सय मिटर टाढा छिमेकी अनुषा राईको घरमा धामी लगाउन सपरिवार गएका थिए । पछि, घर पनि रुङ्ने र सुत्ने भनी घर आउँदा घरमा रहेकी मिना मृत अवस्थामा फेला परेकी थिइन् ।

मिना मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको मृत्युको अनुसन्धानको क्रममा मिना आफै मरेकी नभई मारिएको पुष्टि भएको छ । उनलाई राति साढे १० बजे चटपटे किन्न आएका एक १५ वर्षीय बालकले हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चटपटे किन्ने क्रममा दुई जना बिच बाद विवाद भएको र उनीहरू बिच झगडा भएको अनुसन्धानबाट खुलेको छ । मिनाको हत्यामा सोही स्थानका १५ वर्षीय बालक संलग्न भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घटना भएको २४ घण्टा भित्रै पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ती बालकले बोतलले मिनाको टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरेका थिए । मिनाको हत्या पछि आफ्नै घरमा गएर सुतेको बयान सोधपुछको क्रममा ती बालकले प्रहरीलाई दिएको बताइएको छ ।

घटनामा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शङ्कास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी ईकाइ कार्यालय धरानबाट “लैला” नामको कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेको हो । पक्राउ परेका बालकलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।