झापा : प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले नागरिकको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएका कारण नागरिकलाई कसरी र कुन रुपमा सदैब स्वास्थ्य राख्न सकिन्छ भन्ने बिषयमा प्रदेश सरकार सदैब प्रयत्नशिल रहेको बताएका छन् ।

सोमवार झापाको कमल गाउँपालिकाले निर्माण गरेको प्रदेश १ कै पहिलो अस्थाई कोभिड-१९ अस्पतालको उद्घाटनपछि आफ्नो मन्तव्यका क्रममा मन्त्री कार्किले यस्तो बताएका हुन् ।

नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड-१९ अस्पताल सञ्चलन गर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएकोमा मन्त्री कार्कीले धन्यबाद समेत दिए ।

अहिले अस्थाई रुपमा सञ्चालनमा ल्याएको अस्पताललाई छिट्टै स्थाई बनाईने र त्यसकालागी प्रदेश सरकारले थप आर्थिक सहयोग गर्ने समेत मन्त्री कार्किले बताए ।

अस्पताल निर्माणका लागी गाउँपालिकाले २१ लाख रुपैया खर्च गरेको छ भने अस्पतालमा आवश्यक सामाग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागी संघीय सरकारबाट १४ लाख ५० हजार, प्रदेश सरकार बाट ५ लाख रकम प्राप्त भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।