धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गइरहेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गर्दा चाहिने केमिकल रिएजेन्ट र पिसीआर किट अभाव भएकोले सरकारले तोकेको २ हजार शुल्क लाग्ने भनिएपछि अहिले धरान उपमहानगरपालिकामा स्वाब सङ्कलन असोज ३ देखि रोकिएको छ ।

धरानमा बजार पसल खुले सँगै समुदायमै सङ्क्रमण फैलिँदै गएको छ । धेरै मानिसहरूको आउजाउ हुने नेपाल टेलिकमको धरान शाखाका प्रमुख र एक जना टेक्निसियनलाई कोरोना सङ्क्रमण भएपछि सोमबार देखि टेलिकमको धरान शाखाले आफ्नो सेवा बन्द गरेको छ ।

यसै गरी धरानमा रहेको एनएमबी बैकको धरान शाखाका म्यानेजरलाई कोरोना सङ्क्रमण भएपछि एनएमबी बैक पनि सोमबार देखि बन्द भएको छ ।

धरानमा यो साता देखि विद्यालय सञ्चालनमा ल्याउने भनिइरहेको बेलामा सोमबार धरानको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकमा कोरोना सङ्क्रमण भएको छ ।

धरान उपमहानगरपालिकाका एक जना अधिकृतलाई पनि कोरोना पुष्टि भएपछि धरान उपमहानगरपालिकामा फेरी कनट्र्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्नुपर्ने भएको छ । नेपाल टेलिकममा पनि प्रमुख सहित एक जना टेक्निसियनमा सङ्क्रमण भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै टेलिकमको कार्यालय खुल्ने एक कर्मचारीले बताए ।

धरानमा सोमबार मात्रै १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसले गर्दा धरानमा कोरोना संक्रमणदर पछिल्लो समयमा आएर बढदै गइरहेको बताइन्छ । बजार पसलहरूमा देखिने भिडभाडले गर्दा पनि संक्रमणदर बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार बीपीले कोरोना परीक्षण गर्न शुल्क लिन थाले पछि अहिले पछिल्लो समय धरानमा स्वाब सङ्कलन गरिएको छैन ।

यसरी विगतमा कोरोना सङ्क्रमण हुने बित्तिकै सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको तुरुन्त कनट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिन्थ्यो तर अहिले त्यस्तो नहुनुले समुदायमा संक्रमणदर बढेको हुनसक्ने बताइएको छ ।

कोरोनाको जोखिमका कारण विद्यालय सञ्चालन गर्ने तयारीमा रहेका विद्यालयहरूमा पनि सङ्क्रमणको जोखिम बढेको अभिभावकहरुनै बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले विद्यालय लगायत सार्वजनिक भेला हुने खालका कुनै पनि गतिविधि नगर्न भनेको छ ।