विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । 

झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय २२ कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । 

मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित मध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरिमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहबीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १महिला ३ पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६४१ पुगेको छ ।  प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्जाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको सङ्ख्या ३ हजार ४१ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।