धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार तथा स्वकीय सचिव दिलीप भट्टराई आर्थिक हिनामिनाको विवादमा मुछिएका छन् ।

भट्टराईले कोभिड अस्पतालको डोर क्लोजर मेशिन फिट गरेको कम्पनीबाट खाली बिल लगेर ज्याला भन्दा झन्डै ४ गुणा बढी बिल पेस गरेको आरोप लागेको छ ।

कोभिड अस्पतालमा डोर क्लोजर मेशिन धरान-१५ स्थित दिप्सन ग्रिल उद्योगले फिट गरेको थियो । उक्त उद्योगका सञ्चालक भूपाल राईले आज होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् ।

उनका अनुसार करिब ६ महिना अघि २५ वटा मेशिन फिट गरे पनि अहिलेसम्म भुक्तानी नपाएको बताए । तर, उपकुलपतिको सल्लाहकार भट्टराईले ७ वटा खाली बिल लगेर आफूले पाउनुपर्ने भन्दा झन्डै ४ गुण बढी मूल्य राखेर बिल पेस गरेको प्रमाण आफूले पाएको ग्रिल सञ्चालक राईले बताए ।

राईले अस्पतालमा पहिलो चरण १२ थान डोर क्लोजर मेसिन फिट गरेको बताए । कार्यालय बाट भट्टराईले बिल बिना ११ हजार ४ सय अग्रिम पैसा समेत दिएका थिए । दोस्रो पटक पनि उनले २५ वटा डोर क्लोजर मेसिन लगाएका थिए । उनीसँग भट्टराईले जम्मा ७ वटा खाली बिल छाप लगाएर चेकबाट भुक्तानी गर्ने भनेर लिएका थिए ।

बिल लिएको तर धेरै दिन भुक्तानी नभएकाले कार्यालयमा कर्मचारीहरू लिएर भट्टराईको कार्यकक्षमा समेत जाँदा टेबल मुनी बिल लुकाएको भेटेको उनले बताए । बजारको रेटमा ८ सय ५० मात्र भएको जसमा १ सय फिटिङ गरेको पारिश्रमिक लिएर ९ सय ५० मा सम्झौतामा गरेको बिलमा भट्टराईले एउटा मेसिनको मूल्य ३३ सय सम्म लेखेको भेटिएको छ ।

भट्टराईले आफूले पनि यही दररेटमा कारोबार गरेको तर आफ्नो संस्थाको बिलमा एउटा मेसिनको ३३ हजार लेखेका थिए । उनले जम्मा अस्पतालबाट २३ हजार ७ सय ५० मात्र पाउनु पर्ने हो ।

राई कोभिड अस्पतालमा हरिकृष्ण श्रेष्ठद्वारा गिना कन्स्ट्रक्सन मार्फत काममा जोडिएका हुन् । राईले आफूलाई भट्टराईले मलाई चिनेको छैन म तलाइ चिनाउँछु भनेर धम्काएको समेत पत्रकार सम्मेलनमा बताए ।

यस विषयमा कपुरी न्युजले भट्टराई सँग कुरा गर्दा पैसाको लोभ लालच केही नभएको र घुस कमिसन लिन नपाएकाहरूले आफूलाई आरोप मात्र लगाएको बताए । उनले भने “गोजीमा पैसा भएकाले ११ हजार ७ सय दिएको र अरू भुक्तानी प्रक्रिया अन्तर्गत गरिनु पर्ने हुन्छ ।”

प्रतिष्ठानका निर्णयहरूमा भट्टराईको हस्तक्षेप :
प्रतिष्ठानको उपकुलपतिका प्रशासनिक सल्लाहकार र स्वकीय सचिवमा नियुक्ति पाएका भट्टराईले प्रतिष्ठानको हरेक कार्यमा हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ ।

उपकुलपति डा. गिरीको हरेक निर्णय उनकै प्रभावमा हुने गरेको बताइन्छ । पछिल्लो समय कोभिड अस्पतालमा प्रक्रिया विपरीत खरिद भएको सामान तथा उपकरणहरूमा पनि व्यापारीसँग मिलेमतोको विवादमा पनि उनको संलग्नता रहेको बताइएको छ ।

उनकै कारण कोभिड अस्पतालका प्रमुखले राजीनामा दिएको र खरिद शाखा प्रमुख तथा मूल्याङ्कन समितिका सदस्य सचिव विष्णु चापागाईँलाई प्रतिष्ठानको नियम विपरीत ४ महिना पनि नपुग्दै सरुवा गरियो ।

यो सँगै केही दिन अघि मात्रै प्रतिष्ठानकै एक जना प्राविधिक कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका कारण इलाका प्रहरी कार्यालय धरानमा ठाडो उजुरी समेत परेको थियो । यो घटना दुवै पक्षलाई राखेर गुपचुपमा मिलाइएको थियो । घटना बाहिर आउन पाएन ।

पछिल्लो समय प्रतिष्ठानका उपकुलपति कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेको बेला झन् भट्टराईको सक्रियता अत्यन्तै बढेको प्रतिष्ठानकै कर्मचारीहरूले बताएका छन् । उनी प्रतिष्ठानको कार्यकारी जस्तै भएर सबै ठाउँमा हस्तक्षेप गर्ने गर्नाले प्रतिष्ठानका थुप्रै विवादमा भट्टराई मुछिँदै आएका छन् ।