विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधवार एक सडक आश्रित महिलाको उद्धार गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साँवालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्सिया धना विश्वकर्माको उद्धार गरेको हो । स्थायी ठेगाना बताउन नसक्ने उनी करिब एक सातादेखि सडकमा बसेको स्थानीय युवाहरूले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो ।

सडकबाट उद्धार गरी प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आए पछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताए ।