धरान : इटहरीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

इटहरी ६ का एक ५६ बर्षीय कोरोना सङ्क्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

विराट मेडिकल कलेजबाट बुधवार साँझ ती व्यक्तिलाई धरानस्थित वीपी प्रतिष्ठानमा आइसियुमा भर्ना गरिएको थियो । निमोनिया पनि भएका उनको गए राती मृत्यु भएको बताइएको छ ।

यसअघि मङ्गलवार इटहरी ५ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । यो सँगै इटहरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । 

इटहरीमा २१ जना कोरोना सङ्क्रमित थपिए 
इटहरीमा हिजो साँझ थप २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

असोज ११ र १२ गते स्वाब सङ्कलन गरिएका मध्ये २१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईका अनुसार सङ्क्रमण पुष्टि हुनेहरूमा इटहरी ४ का ५० वर्षीय पुरुष, इटहरी ५ का १९ वर्षीया महिला, इटहरी ७ का ४५ वर्षीय पुरुष, इटहरी ८ का ४१ वर्षीया महिला, इटहरी ९ का २७ वर्षीय पुरुष, इटहरी १० का २५ वर्षीय पुरुष र ३२ वर्षीया महिला, इटहरी १२ का ४२, ५८ वर्षीय पुरुष र ४५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरि विभिन्न अस्पतालमा सेल्फ परीक्षण गरिएका मध्ये इटहरी १ का २९ वर्षीय पुरुष, इटहरी ५ का २९, ५५, ७२ वर्षीय पुरुष, इटहरी ८ का ३०, ३६ वर्षीय पुरुष, इटहरी ९ का ३७ वर्षीया महिला, इटहरी १३ का ३१ वर्षीया महिला, इटहरी १६ का ३३ वर्षीय पुरुष, इटहरी २० का ७७ वर्षीया महिला, नेपाली सेना इटहरी ब्यारेकका ३१ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै इटहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय १६ पुगेको छ ।