विराटनगर : मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टे बाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा विराटनगर १५ का ३८ वर्षीय मुन्ना भन्ने सत्य जित साह, ३८ वर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ वर्षीय जगदीश साह रहेका छन् ।

पक्राउ परेका तिनै जनाले युएईमा जारी इन्डियन प्रिमियम लिग (आइपिएल) क्रिकेटमा सट्टे बाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १३ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्यापटप, ३ थान मोबाइल र १ थान मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूले अनलाइनबाट कुन टिमको हारजित हुन्छ भनी  बाजी मार्नका लागी रकम कबोल गराई सट्टे बाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जना उपर कानुनी  कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।