धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले प्रवक्ता नियुक्ति भएको ४ महिनामै प्रवक्ताबाट राजीनामा दिएका छन् ।

डा. सापकोटाले कार्यब्यस्ताको कारण राजीनामा दिनुपरेको बताएका छन् । उनले हिजो पदबाट राजीनामा दिएका हुन् । डा.सापकोटा मानसिक रोग विभागका प्राध्यापक हुन् । डा. सापकोटाले पदबाट आफूले राजीनामा दिएको जानकारी सहितको इमेल प्रतिष्ठानका विभागीय प्रमुखहरु सहित सिनियर चिकित्सकहरूलाई पनि पठाएका छन् । उनले संचारकर्मीहरुलाई पनि इमेल मार्फत हिजो असोज १५ गते देखि लागु हुने गरी प्रतिष्ठानको प्रवक्ताबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

पछिल्लो समय ओपिडी सेवा पनि सुचारु भएपछि कार्यब्यस्ताको कारण राजीनामा दिएको डा. सापकोटाले बताएका छन् । ‘ओपिडी सुरु भएपछि कामको चाप भयो, ओपिडीमा मेरो बिरामीहरू धेरै हुनुहुन्छ । उहाँहरूसँग बोल्ने कि प्रवक्ताको फोन उठाउने भन्ने समस्या भयो । त्यसैले मैले राजीनामा दिएको हुँ डा. सापकोटाले बताए ।

डा.सापकोटा जेठ ८ गते प्रतिष्ठानको प्रवक्तामा नियुक्त भएका थिए । उनले राजीनामा दिनुको कारण कार्य व्यस्तता भने पनि उपकुलपति र उनको सचिवालयको कार्यशैलीबाट असन्तुष्टिको कारण राजीनामा दिएको प्रतिष्ठानका अरू चिकित्सकहरूले बताएका छन् । तर, डा. सापकोटाले भने कार्यब्यस्ता बाहेक अन्य कुनै कारण नभएको र स्वेच्छाले नै राजीनामा दिएको बताउँदै आएका छन् ।