धरान : कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल अनुगमन गरेको छ ।

अनुगमनमा समितिका संयोजक जीवनराम श्रेष्ठ, सदस्य एकवाल मियाँ र नमिताकुमारी चौधरीको उपस्थिति रहेको थियो । उनीहरूले धरानको कोभिड अस्पताल सञ्चालन, भोगिरहेको कठिनाइ लगायत अन्य चुनौतीका विषयमा जिज्ञासा राखेका थिए ।

संयोजक श्रेष्ठका अनुसार हाल कोभिड अस्पताललाई बढी प्राथमिकतामा राख्दा गैर कोभिड सेवालाई असर पर्न सक्ने अनुमानका साथ समस्याको बारेमा जानकारी लिएर समाधानको लागी बाटो पहिचान गर्ने बताए ।

काठमाडौँ बाहिर पहिलो पिसिआर परीक्षण गर्ने वीपी प्रतिष्ठान नै रहेको बताउँदै यस कोभिड अस्पताल नेपालकै उदाहरणीय अस्पतालको रूपमा रहेको उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले बताएका छन् । ’हामीले सुरुदेखि नै फिभर क्लिनिक, हेल्थ डेस्क, स्कृनिङ डेस्क र आइसोलेसन वार्ड सञ्चालनमा ल्याएका छौ ।’ उनले भने, ’यहाँ १ सय बेडको कोभिड अस्पताल रहेको छ ।

जसमा डेडिकेटेड रेडियोलोजी सेवा, अल्ट्रासाउन्ड सेवा साथमा अप्रेसन थिएटर समेत त्यही नै सञ्चालनमा रहेको छ । त्यसमा २ वटा सफल शल्यक्रिया समेत भइसकेको छ ।’ नेपाल सरकारको निर्देशिका अनुसार पूर्ण पालना गरी कोभिड अस्पताल सञ्चालनमा आएको उनले बताए ।

 यसअघि स्विस सरकारले प्रतिष्ठानको नाममा पठाएको पिसिआर मेसिन भने अन्तै राखिएकोमा उपकुलपति गिरीले गुनासो गरे । ’मैले स्विस एम्बेसीबाट प्रतिष्ठानको नाममा पिसिआर मेसिन आएको खबर पाएको थिए । तर त्यो मेसिन विराटनगरमा राखियो ।’ उनले भने, ’तर हामीलाई गैर सरकारी संस्थाले पिसिआर मेसिन दिने भएको छ ।’ करिब १ सातामा मेसिन प्राप्त हुने अनुमान गरेको बताउँदै उनले जसरी भए पनि कोभिड पराजित गर्नका लागी सामूहिक रूपमा लागी पर्ने बताए ।

प्रतिष्ठानका निर्देशक प्रा. डा. गौरीशङ्कर साहले वीपी प्रतिष्ठान सुरु हुँदा जुन अवस्थामा रहेको छ, जनशक्ति देखि लिएर संरचना सबै उस्तै रहेको बताए । हाल त्यही जनशक्ति कोभिड अस्पतालमा समेत बाँड्नु परेको बताए ।

पिसिआर परीक्षणको स्थितिबारे बताउँदै निर्देशक साहले हालसम्म करिब ५५ हजार स्वाब सङ्कलन गरिएको जानकारी गराए । ’यसमध्ये २५ सयको हाराहारीमा मात्र पोजेटिभ रिपोर्ट आएको छ । हाल ५८ कोरोना सङ्क्रमित बिरामीको डाइलासिस भइहरको छ ।

’उनले भने “हालसम्म प्रतिष्ठानमा ३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको बताउँदै मृत्युदर मात्र ४ प्रतिशत रहेको जनाए । बिरामीहरूको लागी हेल्प लाइनको व्यवस्था साथमा आकस्मिक, बालबालिका र गाइनो विभागले छुट्टै आइसोलेसन र फिभर क्लिनिक चलाएको उनले जानकारी दिए ।

रजिस्टार प्रा. डा. मोहनचन्द्र रेग्मीले अन्तरप्रादेशिक रेफरल विधि प्रभावकारी बनाई जरुरी बिरामीहरूलाई मात्र ल्याउनका लागी व्यवस्था गर्न सके केही हदसम्म सहज हुने सुझाए ।

यतिको सेवा दिइरहेको अस्पतालका लागी सरकारले केही आर्थिक प्याकेज व्यवस्थापन गर्नुपर्ने, पिसिआर परीक्षणको रिपोर्ट चाँडो तयार गर्ने क्विक डाइग्नोस्टिक मोडालिटी तयार गर्नुपर्ने जनाए । उनले स्वास्थ्य मन्त्रालयले उद्घोष गरेको बिमाको विषयमा समेत जिज्ञासा राखेका थिए ।

प्रतिष्ठानका रेक्टर प्रा. डा. गुरु खनालले कोभिडबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा समेत कठिनाइ भएको स्मरण गराए । शवको व्यवस्थापनका लागी खाल्डो खन्नका लागी एक्स्काभेटर प्रयोग हुने गरेको तर चालक अभाव रहेको धरानका उपमेयर मञ्जु भण्डारीले बताइन । 

समितिले हिजो बिहीबार प्रदेश १ को मुख्यमन्त्री सेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भेट गरेका थिए । यस्तै हिजो नै मोरङको सिडिओ, विराटनगरको मेयरको उपस्थितिमा नोबल मेडिकल कलेज, विराट मेडिकल कलेज, प्रदेश जनप्रयोगशाला र कोशी अस्पताल समेत अनुगमन गरेका थिए । समितिले प्रदेश १, २ र बागमती प्रदेशमा अनुगमन गर्नेछ ।