झापा : झापाको गौरादहमा गत सोमबार एक महिलाको हत्या भएको विषयमा प्रहरीले अनुसन्धानका लागि उनकै श्रीमान् भीम भण्डारीलाई पक्राउ गरेर म्याद थप गरेको छ ।

सोमबार गौरादह १ की मनमाया भण्डारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले हिजो बिहीबार उनलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितका अनुसार पोस्टमार्टम रिपोर्ट र अभियुक्तले दिएको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले आज झापा जिल्ला अदालतबाट मृतकका श्रीमान् भण्डारीलाई ७ दिनको म्याद थप गरिएको हो ।

दमक प्रहरी प्रमुख पण्डितका अनुसार अनुसन्धान जारी रहेको र अहिलेसम्मको अनुसन्धानमा घटनास्थलमा भण्डारी रहेको र उनले नै हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपि अनुसन्धानको प्रक्रिया पुरा नभएकाले ७ दिनको म्याद थप गरिएको पण्डितले बताए ।

झापाकै कमल १ घर भएकी भण्डारीको असोज १३ गते बेलुका साढे ४ बजेतिर शव फेला परेको थियो ।  अभियोग लागेका भण्डारी भने गौरीगञ्ज गएको दाबी गर्दै आएका थिए । प्रहरीका अनुसार भण्डारी दम्पती नाति नातिनी पढाउनका लागि ५ वर्ष यता गौरादहमा बस्दै आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हथौडाले हानेर हत्या गरिएको छ । मृतक भण्डारीका २ छोरा छन् । प्रहरीले हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको उल्लेख गरेको छ ।