विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् ।

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् ।

शुक्रवार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले कार्य सम्पादन सम्झौता गरेका हुन् । बाँकी मन्त्रीहरूले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढङ्गले काम गर्न सजिलो हुने बताएका छन् । मुख्यमन्त्रीले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले जेठ मसान्त भित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन पनि दिएका छन् ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अब मन्त्रीहरूसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नेछन् ।

प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजा मूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावली को व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको थालनी भएको हो ।

Indra-Angbo Jagdis-Kusiyat Jiban-Ghimire