धरान : धरानका मेयर तिलक राईले पहिरोका कारण विस्थापित भएका धरान वडा नं. २० आँपटारका पहिरो पीडितका लागि उपयुक्त जग्गा खोजी गरी स्थानान्तरण गर्ने बताएका छन् । 

शुक्रवार पहिरोग्रस्त क्षेत्रमा पुगेर पहिरो पीडित परिवारहरूलाई भेट्दै मेयर राईले धरान उपमहानगरपालिकाले चाडै नै उपयुक्त जग्गाको खोजी गरी विस्थापित भएका परिवारलाई स्थानान्तरण गर्ने बताएका हुन ।

नेपाली काँग्रेस वडा नं. २० का कार्यसमितिले पहिरोबाट विस्थापित भएका परिवारलाई शुक्रवार नगद ६५ हजार रुपैयाँ सङ्कलन गरेको रकम पीडित परिवारलाई हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् । ‘विस्थापित भएका परिवारका लागि उपयुक्त जग्गाको खोजी भइरहेको छ’ मेयर राईले भने । मेयर राईले पीडित परिवारलाई सबैले सहयोग गर्न पनि आग्रह गरेका छन् । 

पहिरोबाट सत्यकुमार राई, बस्तीलाल राई, सवलमान राई, वीर कुमार राई, रामकुमार राई, नन्दलाल यादव र रामकुमार राईको परिवार विस्थापित भएका छन् । अहिले उनीहरूलाई सुरक्षित स्थानमा सारेर टेन्टमा राखिएको छ । 

मेयर राईसँग धरान वडा नं. १८ का वडाध्यक्ष प्रवीण राई, नेपाली काँग्रेस जिल्ला सदस्य पदम लिम्बु, नेपाली काँग्रेस वडा नं. २० का बुथ सभापति राम कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो । 

Aaptar-1 Aaptar-2