धरान : लकडाउन खुले सँगै धरान पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ ।

हिजो मात्रै धरानमा दिउसो ८ जना र साँझ अबेर ६१ जना गरी ६९ जनाको एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

हिजो सङ्क्रमित हुनेहरूमा धरान उपमहानगरपालिकाका कर्मचारी, धरान १२ र धरान २ का जनप्रतिनिधि र स्वाब सङ्कलन गर्ने व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब सङ्कलन गरिएका मध्ये १९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार एन्फा क्वारेनटिनमा लिएकाहरूमा ४२ जना गरी हिजो साँझ ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसै गरी धरान १२, १६ र धरान १५ को वडा कार्यालय र धरान उपमहानगरपालिकाको सूचना र घर नक्सा फाट पनि बन्द गरिएको छ । तर बजारमा भने अलिकति पनि सामाजिक दुरी कायम गरेको सर्वसाधारणले देखिँदैन । 

यसरी धरानमा कोरोना संक्रमणदर दिनानुदिन वृद्धि भइरहेको बेलामा धरान बजार भने अस्तव्यस्त देखिन्छ । असोज १ गते देखि सार्वजनिक यातायात सञ्चालनमा आए पनि सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड अपनाइएको खासै देखिँदैन । भानुचौकको बसपार्कको भिड पहिलेको जस्तै अवस्था छ ।