विराटनगर : उपचारका लागि मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज लगिएका दुई जना कोरोना सङ्क्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध र  सिराहाका एक पुरुषको एम्बुलेन्स भित्र मृत्यु भएको हो । विराट मेडिकल कलेजको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदा आउँदै बाटोमा मृत्यु भएको हो ।

‘गेटमा जाँच गर्दा अवस्था अति नै गम्भीर थियो । ’उनले भने ‘एम्बुलेन्सबाट उतार्न खोज्दा दुई जनालाई मृत्यु भइसकेको अवस्थामा पायौँ ।’दुवै जनालाई दिउँसो १२ः३० बजेतिर एम्बुलेन्समै मृत्यु भएको अवस्थामा भेटिएको उनले बताए । 

उनका अनुसार मृतक मध्ये एक जना सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका-२ का ५५ वर्षीय पुरुष हुन । इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए । 

देवले अस्पतालमा आइपुग्दा वृद्धको शरीर चिसो भइसकेको अवस्थामा पाइएको बताए । ‘वृद्धको मृत्यु एम्बुलेन्सभित्रै भइसकेको पाइयो,’ उनले भने ।’  मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको देवले बताए ।

सिराहा सुकीपुर नगरपालिका-२ का ५५ वर्षीय सङ्क्रमित पुरुषलाई सिराहाका विराटनगरको नोबेल मेडिकल कलेजबाट थप उपचारका लागि विराटतर्फ लगिएको थियो ।

सोमबार यता नोबेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबार साँझ रिपोर्ट पोजेटिभ आएपछि नवबेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो । आइसोलेसनमा लैजाने तयारी भइरहँदा उपचारका लागि ल्याएको एम्बुलेन्सभित्रै पुरुषको मृत्यु भएको पाइएको आइसोलेसन इन्चार्ज देवले जानकारी दिए । 

शुक्रवारनै विराटनगरमा अर्का एक सङ्क्रमित महिलाको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१४ की ७२ वर्षीय महिलाको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।