धरान : डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा सुधार तथा विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै विगत २० दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेकोले सरकारले उनको माग सम्बोधन गर्न तथा वार्ता गर्न अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सोसाइटीले शनिवार साँझ प्रतिष्ठानमा दीप प्रज्वलन गर्दै डा. केसीको जीवन रक्षाको कामना गरेको छ । सोसाइटीले आइतबारदेखि कालो पट्टी बाँधेर काम गर्दै विरोध जनाउने घोषणा गरेको छ भने सोमबारदेखि ३ दिनसम्म बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा इमर्जेन्सी बाहेक काम छोडेर धर्ना दिने पनि घोषणा गरेको छ । यस्तै, ३ दिनसम्म पनि डा.केसीको जीवन रक्षाको लागि कुनै कदम नचाले त्यो भन्दा कडा आन्दोलन गर्ने निर्णय गरिएको सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।