धरान : धरान उपमहानगरका मेयर तिलक राईले धरानमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै सर्वसाधारण नगरबासी सचेत र सजग हुनुपर्ने बताएका छन् । 

आज बिहान एउटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा सो कुरा बताएका हुन् । धरान उपमहानगरपालिकाका बासिन्दालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले हरतरह प्रयास जारी राखेको भए पनि कोरोना सङ्क्रमण दर दैनिक जसो बढदै गएकोले विज्ञहरूले आधिकारिकरुपमा समुदायमै कोरोना फैलिएको नभने पनि अव अवस्था हेर्दा समुदायमै फैलिएको उनले बताए । 

धरान उपमहानगरपालिकाले समुदाय स्तरमा पुगेर मास टेस्टिङ गर्दा समेत समुदायकै धेरै कोरोना सङ्क्रमित देखिएको थियो । तर विज्ञहरूले यसबारेमा अध्ययन अनुसन्धान गरिरहेकोले समुदायमा कोरोना फैलिएको हो भनेर आधिकारिक जानकारी अझै आएको छैन ।

तर पछिल्लो समय ट्राभल हिस्ट्रि नभएका समुदाय स्तरमा समेत कोरोना सङ्क्रमण देखिन थाले पछि अव धरानमा कोरोना सङ्क्रमण समुदायमै फैलिएको बताइएको छ । धरानमा पछिल्लो समय लक्षण सहितको कोरोना सङ्क्रमित देखिन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।  

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा १ हजार जना बरावर ३ जनामा कोरोना सङ्क्रमण भएको पाइएपछि धरान कोरोना सङ्क्रमणमा उच्च विन्दुमा रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।

धरानमा किन सङ्क्रमण बढ्यो : 
धरान उपमहानगरपालिकामा लकडाउन खुले पछि सर्वसाधरणहरुको व्यापक अटेरीपन बढेको छ ।

स्वास्थ्य सावधानी नअपनाई हिँडडुल गर्ने र बिहान र बेलुका अत्यधिक मानिस घर बाहिर निस्किएर मर्निङवाक र इभिनिङवाक गर्नेले गर्दा पनि कोरोना सङ्क्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।

बजार तथा सार्वजनिक स्थानहरूमा मास्क नलगाई भेला हुने, सामाजिक दुरी कायम नगर्ने र बजारका पसलहरूमा सामान्य स्वास्थ्य सावधानी नअपनाउनाले पनि यस्तो भएको हो ।