धरान : इनरुवा-३ राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी दुहबी-१० का २६ वर्षीय दीपक कुमार यादव र हरीनगर-६ का ३४ वर्षीय सहिद मिया रहेका छन् । पक्राउ परेका दुवै जनाले राजमार्ग छेउको झाडीमा लागुऔषध लुकाई छिपाई राखिरहेको भन्ने सूचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो बिहान ९ बजे नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात् उनीहरूले लुकाउँदै गरेको बोरा चेक जाँच गर्दा १४० बोतल डाईलक्स डिसी ३९६० क्याप्सुल, स्पामोप्रोक्सीभा प्लस र १३५० नाइट्रोभेट ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी सुनसरीकै कोशी गाउँपालिका-३ नहर चोकबाट २८ वर्षीय कमरुदिन मिया लागु औषध सहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा उनलाई हिजो साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मियालाई पक्राउ गरिए सँगै उनले बोकेको झोला खोलेर चेक जाँच गर्दा ४५ बोतल डाईलक्स डिसी र ३२८ क्याप्सुल स्पामोप्रोक्सीभान प्लस फेला बारी बरामद गरिएको हो । यसरी लागु औषध सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Laguausadh-1