धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएपछि अहिले धरान उपमहानगरपालिकाका वडा कार्यालयहरू धमाधम बन्द भइरहेका छन् ।

अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नहुने भन्दै धरानका १,३,८,११,१२,१४,१५,१६ नम्बर वडाहरू बन्द गरिएको वडा कार्यालयहरूले सूचना जारी गरेका छन् । बन्द भएका वडाहरूमा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधिहरू र वडावासीहरूमा कोरोना सङ्क्रमण भएको भन्दै बन्द गरिएको हो ।

यसरी वडा कार्यालयहरू धमाधम बन्द भयसँगै धरान उपमहानगरपालिकामा पनि थुप्रै कर्मचारीहरूमा कोरोना सङ्क्रमण भएपछि अहिले घर नक्सा शाखा, सूचना शाखा र आर्थिक विकास महाशाखा पुरै बन्द गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए ।

उनका अनुसार धरान उपमहानगरपालिकाका वडा कार्यालयहरू किस्ताबन्दी तरिकाले बन्दको घोषणा वडाध्यक्षहरूले गरिरहेको सुन्नमा आएको तर आधिकारिक जानकारी आएको छैन ।

धरान उपमहानगरपालिकामा पछिल्लो समय आइतबार सम्म आइपुग्दा स्वास्थ्य महाशाखाका अनुसार ६ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले सम्म ३ सय ६३ जना कोरोना सङ्क्रमितले कोरोना जितेर निको भएका छन् । धरानमा मात्रै कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूमा धरान-१५ का २ जना, धरान-१७ का ३ जना, धरान -११ का १ जना, धरान- ८ का १ जना र धरान -२ का १ जना गरी जम्मा ८ जना रहेका छन् ।

धरानको कुन वडामा कति सङ्क्रमित छन्  ? 
धरानको कोरोना सङ्क्रमणलाई वडागतरुपमा हेर्ने हो भने धरान- १ मा ८ जना, धरान-२ मा ९ जना, धरान-३ मा २१ जना, धरान-४ मा ६ जना, धरान-५ मा ६ जना, धरान-७ मा २१ जना, धरान-८ मा १८ जना, धरान-९ मा ९ जना, धरान-१० मा १४ जना, धरान-११ मा ३७ जना, धरान-१२ मा २१ जना, धरान-१३ मा ११५ जना, धरान-१४ मा ७ जना, धरान-१५ मा ४१ जना, धरान-१६ मा ५३ जना, धरान-१७ मा ५० जना, धरान-१८ मा १२० जना धरान-१९ मा ३७ जना र धरान-२० मा अहिले सम्म शून्य सङ्क्रमण रहेको छ ।

धरान उपमहानगरपालिकामा अहिले २१७ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् भने अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । यो सँगै धरानमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३५ रहेको छ ।