धरान : निजी विद्यालयहरूले अभिभावकलाई गत वैशाखदेखिको भर्ना शुल्क र मासिक शुल्क कडाइका साथ तिर्न दबाब दिएको प्रति नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । 

कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको अवस्थामा तथा ६ महिना भन्दा धेरै लामो बन्दाबन्दी ९लकडाउन० का कारण विद्यालयहरू बन्द रहेको अवस्थामा निजी विद्यालयहरूलाई भर्ना शुल्क र मासिक शुल्क नलिन आग्रह गरेको हो । 

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस एकाइ समिति धरानका कार्यवाहक सभापति दोर्ची शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हालको अवस्थामा विद्यालयहरूले अतिरञ्जित तरिकाले अभिभावकसँग ती शुुल्कहरु लिइनु अव्यवहारिक र असान्दर्भिक रहेको छ ।

हाल विद्यालयले शिक्षक कर्मचारीहरूलाई मासिक तलब खुवाउनु व्यवहारिक हो, तर यस्तो विषम परिस्थितिमा पूर्ण रूपमा कुनै पनि शुल्क लिएर कमाउने नियत राख्नु अत्यन्तै निन्दनीय छ ।

तसर्थ सरोकारवालाहरू विद्यालय, अभिभावक, नेपाल विद्यालय सङ्घ र स्थानीयका प्रतिनिधिहरूबिच छलफल भई निष्कर्ष नआउन्जेल सम्पूर्ण विद्यालयहरूले कुनै पनि शुल्क नलिनुहुन समेत विज्ञप्ति  मार्फत अनुरोध गरेको छ ।

नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन हजारौँको सङ्ख्यामा बढ्दो छ । बन्दाबन्दी ९लकडाउन० कारण न्यून आय भएका मात्र नभएर मध्यमवर्गका अभिभावक समेत मारमा परेर बिहान बेलुकाको गुजाराका लागि चिन्तित बनिरहेको अवस्थामा निजी विद्यालयहरूलाई अहिले भर्ना शुल्क र मासिक शुल्क नलिन नेविसंघले आग्रह गरेको हो । 

यस्तो विषम परिस्थितिको समयमा समेत शुल्क तिर्न बाध्य बनाउने विद्यालयहरूलाई सम्बन्धित निकायले तत्काल कारबाही गर्न पनि नेविसंघको माग छ । साथै अनलाइन कक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूका अभिभावकहरूलाई निष्कर्ष नआउन्जेल कुनै पनि शुल्क नबुझाउन आग्रह समेत गरेको छ ।