धरान : धनकुटा,मोरङ र सुनसरीमा भएका तीन छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । 
 
धनकुटाको पख्रिबास ५ दियाले बस्ने १७ वर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रसारण विद्युतको लाइन छुन पुग्दा थापालाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गसैगरी मोरङको सुनवर्सी २ बस्ने २० वर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।
हिजो साँझ ६ बजे सुनवर्सी अमरदह बजार स्थित भित्री सडक खण्डमा विपरीत दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाइकल र अनटेष्ट ट्याम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक खत्वे गम्भीर घाइते भएका थिए ।

घाइते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्याम्पो र ट्याम्पो चालक सुनवर्सी ९ डायनियाका ३८ वर्षीय मोहम्मद महफिललाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी यता सुनसरी हरिपुर बस्ने धिरेन यादवको ३ वर्षीय छोरा सतिश कुमार यादवको पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको पानी निकासा हुने ठाउँ छेउमा खेलिरहेको अवस्थामा अचानक लडेर पानीमा डुब्दा बालक सतिश बेहोस भएका थिए ।

बेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।