धरान : धरान-११ की सुनिहाङ्मा लिम्बुको श्रीमानलाई नेपाल झिकाएर अनुसन्धान गर्न मा गर्दै सुनिहाङ्मा न्यायिक अभियान समितिले सोमबार जिल्ला अदालत सुनसरी अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

भदौ २२ गते धरान-११ मा सुनिहाङ्मा लिम्बु मृत अवस्थामा कोठामा फेला परेकी थिइन् । धरान-११ का सिंगापुरे लाहुरे आइत माबोसंग विवाह गरेकी सुनिहाङमाको ३ महिना नपुग्दै मृत अवस्थामा कोठामा फेला पर्नुले सुनिहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले मृतकका श्रीमान् आइत माबो सहित ५ जनाको नाममा किटानी जाहेरी दिए पछि भदौ २४ गते केटा पक्षका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पछि अहिले सुनिहाङ्माको रहस्यमय मृत्यु प्रकरण सुनसरी जिल्ला अदालतमा पुगेको छ । अदालतमा सोमबार अभियुक्तहरूसँग बयान लिएको छ भने मङ्गलवार देखि थुनछेकको बहस हुने बताइएको छ । मृतक सुनिहाङ्माका श्रीमानको पनि नाम किटान गरेर प्रहरीमा जाहेरी दिएको भए पनि प्रहरीले केटालाई नेपाल झिकाएर अनुसन्धानको दायरामा नल्याएको भन्दै सुनिहाङ्मा न्यायिक अभियान समितिले आपत्ति जनाएको छ ।

सुनिहाङ्माको न्यायका लागि जस्तो सुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको समितिका सहसंयोजक अरुण तिगेलाले बताएका छन् । झुन्डिएर मरेको भनिएको मान्छे प्रहरी, जनप्रतिनिधि र माइती पक्ष पुग्दा बेडमा सुताएर राख्नु नै ठुलो रहस्य भएको माइती पक्षको दाबी छ ।

सुनिहाङ्माले जसरी पनि न्याय पाउनुपर्छ, सुनिहाङ्माको श्रीमान् आइत माबोलाई सिंगापुर पुलिसबाट झिकाएर अनुसन्धानको दायरामा जब सम्म ल्याइँदैन तब सम्म यहाँ पक्राउ परेकाहरूलाई पनि छाड्न नहुने सुनिहाङ्मा न्यायिक अभियान समितिको माग छ । आइत माबोलाई नेपाल झिकाएर अनुसन्धानको दायरामा नल्याए सम्म समितिले शान्तिपूर्ण आन्दोलन जारी राख्ने पनि सहसंयोजक तिगेलाले बताए ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाइयो : समिति
सुनिहाङ्मा लिम्बुको सोमबार सुनसरी जिल्ला अदालतमा दुरुत्साहन मुद्दामा अभियुक्तको बयान लिने भएकोले सुनिहाङ्मा न्यायिक अभियान समितिले अदालत बाहिर शान्तिपूर्ण प्रदर्शन गर्न गएकाहरूलाई धरानको तीनकुने लगायतका विभिन्न स्थानमा रोकेर फर्काएको थियो ।

सुनिहाङ्मा न्यायिक अभियान समितिका सहसंयोजक अरुण तिगेलाका अनुसार एउटी चेलीको न्यायका लागि शान्तिपूर्ण प्रदर्शन गर्न लोकतान्त्रिक पद्धति हो । तर हामीलाई प्रहरीले रोक्यो । अदालत भन्दा करिब एक डेढ किलोमिटर वर नै सबैलाई प्रहरीले रोकेको थियो । तर पनि अदालत बाहिर शान्तिपूर्ण प्रदर्शन भएको उनले बताए ।

Pradarsan-1