धरान : सोमबार धरान उपमहानगरपालिकाले १ सय ३७ जनाको स्वाब लिएको छ ।

धरान १७ को एन्फा क्वारेनटाइनमा कोरोना सङ्क्रमितहरूको क्लोज कन्ट्रयाक्टमा रहेकाहरू र कोरोनाको लक्षणसँग मिल्दो जुल्दो लक्षण भएका १ सय ३७ जनाको स्वाब लिईएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा अहिले सम्म ४ हजार ४ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । एन्फा क्वारेनटाइनमा सोमबार लिईएको स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा पठाइएको र मङ्गलवार सबैको रिपोर्ट आउने प्रमुख मेहेताले बताएका छन् ।

बीपीमा कोरोना परीक्षण गर्दा चाहिने केमिकल रिएजेन्ट र पिसिआर किट अभाव भएको भन्दै कोरोना परीक्षणका लागि सरकारले तोकेको २ हजार शुल्क लाग्ने भनेपछि उपमहानगरपालिकाबाट पनि कम मात्रै स्वाब लिन थालिएको छ । तर सोमबार भने १ सय ३७ जनाको स्वाब लिईएको हो ।