विराटनगर : नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका-६ का पुरुष र सुन्दरहरैचा नगरपालिका-४ का अर्का पुरुषको मृत्यु भएको हो । 

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका-६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो । सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो ।

पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका पुरुषलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका-४ का ४५ वर्षीय पुरुषको पनि मङ्गलवार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बताए ।