धरान : सुनसरीको इनरुवा ७ वर्छवा चोकबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर ७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ बर्षकै हरिशंकर सरदार रहेका छन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा आएका दुवै जनालाई चेक जाँच गर्दा उनीहरूले प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको डालेक्स डीसी ८९ बोतल, स्पामो प्रोक्सीभान ७६८ क्याप्सुल र नाइट्रोभेट ४२० ट्याब्लेट लागु औषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागु औषध सहित पक्राउ परेका उपेन्द्र र हरिशंकरलाई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।