झापा : उपभोक्ता हित संरक्षण मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदै ज्ञापन पत्र पठाएको छ ।

मञ्चका देश भरिका शाखाहरूले विभिन्न जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको मञ्चका अध्यक्ष ज्योति बानियाले बताए ।

मञ्चको दमक शाखाले समेत इलाका प्रशासन कार्यालय दमक मार्फत प्रधानमन्त्रीलाई उपभोक्ता अधिकार रक्षाको माग सहितको ज्ञापन पत्र पठाएको छ । मञ्चका प्रदेश १ उपाध्यक्ष एवम् दमक अध्यक्ष डा। नवीन चापागाईँ नेतृत्वको टोलीले प्रशासन कार्यालय मार्फत सो ज्ञापन पत्र पठाएको हो ।

मञ्चका अध्यक्ष चापागाईँ, सदस्यहरू चैतन्य बराल, धनञ्जय बास्कोटा लगायतको टोलीले कार्यालयका निमित्त प्रमुख तिलोचन रिमाललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै रिमालले कर्मचारी संयन्त्र मार्फत ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय सम्म पुर्‍याउने प्रतिबद्धता जनाए ।

उपभोक्ताको अधिकार संवैधानिक अधिकार रहेको स्मरण पनि गराइएको छ । यस्तै स्वच्छ बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणको दायित्व तिनै तहका सरकारको भएको राज्य शक्तिको बाँडफाँड र अनुसूची सम्बन्धी व्यवस्थाबाट प्रस्ट पारिएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

गुनासो गर्ने उपभोक्ताको सुरक्षा नहुनु, कमजोर गुनासो व्यवस्थापन र बजारमा प्रभावकारी नियमित अनुगमन हुन नसक्दा समग्रमा बजार सुशासनको अवस्था नितान्त कमजोर रहेको भन्दै स्वच्छ बजार र उपभोक्ता हित संरक्षणका क्षेत्रमा नेपाल सरकारबाट हाल भइरहेका प्रयासहरू नितान्त अपर्याप्त भएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको विशेष ध्यान पुर्‍याउन आवश्यक भएकोले आपूर्ति तथा उपभोक्ता हित संरक्षण मन्त्रालय छुट्टै मन्त्रालयको रूपमा स्थापना गर्न, अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना गर्न, हरेक प्रदेश स्तर तथा स्थानीय तहमा सुपथ मूल्यको पसल स्थापना तथा सञ्चालनका लागि श्रोत साधनको पर्याप्त व्यवस्था गर्न लगायतका माग समेत समेटिएको ज्ञापन पत्र बुझाइएको हो ।