धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको भन्दै धरान उपमहानगरपालिका र वडा कार्यालयहरू असोज २२ गते देखि २८ गने सम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ । 

कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै आज धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको मेयर तिलक राईले बताए ।

बैठकमा कोरोना सङ्क्रमणलाई रोक्नका लागि लकडाउन गर्नुपर्ने कुरा उठे पनि लकडाउन नै समस्याको समाधान नभएको भन्दै कोरोना सङ्क्रमणबाट व्यक्ति आफै सजग र सचेत हुनुपर्ने निर्णय गरिएको छ । लकडाउन अन्तिम विकल्प नभएको भन्दै कोरोना सङ्क्रमणको अवस्थालाई हेरेर बजारमा साँझ ५ बजे देखि बजारलाई अलि व्यवस्थित बनाउन सकिने मेयर राईले बताए । 

धरानमा कोरोना सङ्क्रमण बढेकोले अव वडा वडामा जातीय, सामाजिक संघसंस्थाहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे समाजलाई सुसूचित गर्न लगाउने पनि बैठकमा निर्णय भएको छ । 

चाड पर्वहरू नजिकिँदै गर्दा अव बजारलाई व्यवस्थित बनाउनुपर्ने तर्फ बैठकमा सहभागीहरूले कुरा उठाएका थिए । बैठकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू, सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।