विराटनगर : प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले मन्त्री इन्द्र बहादुर आङबोसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

सचिव खत्रीले बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री आङबोसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौता अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्थाहरूलाई सहज ढङ्गबाट सम्पन्न गर्न सहयोग पुग्ने छ ।

कार्य विभाजन र कार्यसम्पादन नियमावलीले तोकेका कार्यहरूलाई समेत उल्लेख गरेर कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयका सचिव उत्तर कुमार खत्रीले जानकारी दिए ।

यसअघि विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुशियैतले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।

अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले ठुलठुला पूर्वाधार निमार्ण गरेर तथा वैदेशिक लगानी भित्राएर आर्थिक वृद्धिदर दोहोरो अङ्कमा पुर्‍याउने लक्ष्यका साथ बजेट निमार्ण गरेको थियो । तर कोरोना महामारीका कारण जनताको जीवन रक्षाका लागी प्रदेश सरकारले बजेटको मूल प्राथमिकताको क्षेत्र परिवर्तन गर्नुपरेको थियो ।

 अहिले पनि प्रदेश सरकारले निर्धारित लक्ष्य अनुसारका पूर्वाधार तथा विकास निमार्णका कार्यहरूसहित मूल रूपमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र सामाजिक सुरक्षाका विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

सोही अनुरूप चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लैजाने प्रयास भइरहेको र कार्यसम्पादन सम्झौताले यसमा सहजता थप्ने मन्त्री आङबोले स्पष्ट पार्नुभयो । कोरोना भाइरसको कारणबाट समग्र अर्थतन्त्रमा परेका प्रभावलाई चिर्दै नीति तथा कार्यक्रमले निर्धारित गरेको लक्ष्यलाई भेटाउन कार्यसम्पादन सम्झौताले थप सहयोग पुर्‍याउने मन्त्री आङबोको विश्लेषण रहेको छ ।

 प्रदेश सरकारको कार्यलाई पारदर्शी र नतिजामूलक बनाउन कार्यसम्पादन सम्झौताको भूमिका महत्त्वपूर्ण रहेको जनाइएको छ । गत असोज १६ गते मात्रै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले पनि मासिक बजेट र नीति तथा कार्यक्रममा मन्त्रालयका तर्फबाट हुनुपर्ने कार्यहरूको बारेमा नीतिगत हिसाबले भने प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।