धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढ्नुको मुख्य कारण जिम्मेवार निकाय र सर्वसाधारण सचेत नहुनुले भएको बताइएको छ ।

विगतमा कोही मानिस कोरोना सङ्क्रमित भएको खण्डमा उसको आसपास र उसको क्लोज कन्ट्याक भएकाहरूको कन्ट्याक ट्रेसिङ गरी उनीहरूको स्वाब लिएर कोरोना परीक्षण गरिन्थ्यो । तर अहिले भने कोरोना सङ्क्रमित भए पनि सङ्क्रमितको निगरानी र स्वास्थ्य परामर्श समेत नदिइँदा अहिले समस्या हुन थालेको छ ।

अझ यति बेला धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या बारेमा जानकारी भए पनि धरानका कति सङ्क्रमित अस्पतालमा छन् ? र कति सङ्क्रमित होम आइसोलेसनमा छन् ? भन्ने एक्किन तथ्याङ्क धरान उपमहानगरपालिकामा पनि छैन । होम आइसोलेसनमा बसेकाहरूले कत्तिको स्वास्थ्य मापदण्ड पुरा गरेर बसेका छन् अनुगमन कसले गर्ने ? यसरी होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरू घर बाहिर डुलिरहेका पनि हुन सक्छन् ।

उनीहरूको निगरानी कसले गर्ने ? चारै तिर सुरक्षाकर्मी राखेर आइसोलेसनमा राखिएकाहरूमा त समस्या छ भने कोरोना संक्रमित नै पो होमआइसोलेसनमा बसेकाे समयमा घर बाहिर डुलिरहेको छैन ? यसबारेमा जनता समाजवादी पार्टीका धरान उपमहानगर अध्यक्ष ताजुब लिम्बु भन्छन् “होम आइसोलेसनमा बसेकाहरूलाई स्थानीय सरकारले अनुगमन गरी उनीहरूको स्वास्थ्य अवस्था नियमित बुझ्नुपर्छ ।” धरानमा अहिले बढिरहेको सङ्क्रमितहरूको सङ्ख्यालाई हेर्ने हो भने अव धरान उपमहानगरपालिका सचेत हुनुपर्छ । समयमै सचेत र सजग नगरवासीलाई गराइएन भने भोलि ठुलो भयावह अवस्था आउन सक्छ ।

यसै गरी नेपाली काँग्रेसका पुर्व धराननगर सभापति किशोर राई स्थानीय सरकारले बेलैमा सजगता अपनाउनुपर्ने बताउछन । भोलि सङ्क्रमितको सङ्ख्या बढेर भयावह अवस्था आउँदा सङ्क्रमितको उपचार कहाँ गर्ने ? त्यसैले केही दिन लकडाउन गर्नुपर्ने राई बताउछन । अहिले धरान बजारमा अत्यन्तै जोखिम बढेको छ । जहीतही भिडभाड र बजार पसल कहीँ पनि सामाजिक दुरी कायम भएको पाइँदैन । त्यसैले लकडाउन नै उत्तम विकल्प भएको अध्यक्ष राईको भनाई छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजम पनि होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूलाई निगरानी र परामर्शकाे जरूरीरहेकाे बताउछन ।

उनीहरूको स्वास्थ्य अवस्था बुझेर स्वास्थ्य परामर्श दिनुको साथै उनीहरूले स्वास्थ्य प्रोटोकल अनुसार होम आइसोलेसनमा बसेका छन् की छैनन् ? कसले सोधी खोजी गर्ने ? होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित मास्क लगाएर बजारमा डुली पनि रहेका हुन सक्छन् ?  यसले गर्दा झन् धरानमा जोखिम बढेको उनको भनाई छ ।

प्रदेश सरकारले पनि कोरोना सङ्क्रमितलाई उपचार गर्ने अस्पतालको दायरा बढाउनुपर्ने इजमले बताए । भोलि सङ्क्रमित बढे र गम्भीर अवस्थाका बिरामी बढे भने कहाँ र कसरी उपचार गर्ने ? धरानमै हजारको नजिक सङ्क्रमित पुगेको बेलामा बीपीको १ सय बेडमा कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा प्रदेश सरकारको ध्यान पुग्नुपर्छ ।

लकडाउन नै अन्तिम विकल्प भने होइन, सबै भन्दा पहिले सर्वसाधारण सचेत र सजग हुनु नै ठुलो कुरो भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विजय खनाल बत्ताउँछन् । मानिस पहिले आफै सचेत हुने, अनि सामाजिक दुरी र स्वास्थ्य प्रोटोकल अपनाउनुपर्छ । यदि यसो भयो भने मात्रै सङ्क्रमण न्यूनीकरण हुन्छ ।

धरानमा कोरोना सङ्क्रमण बढ्नुमा पहिलो कुरा सर्वसाधणको अटेरीपन भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेत बत्ताउँछन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न नगरपालिका, प्रहरी प्रशासन भन्दा ठुलो भूमिका सर्वसाधारण भएकोले सर्वसाधारण सचेत र सजग हुनु जरुरी भएको उनी बत्ताउँछन् ।