धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गरी असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पूर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

सूचनामा खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनिक हाटबजार अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ । बजार तथा पसलहरुमा न्यूनतम २ मिटर दुरी रहने गरी मात्र ग्राहकलाई भित्र प्रवेश गर्न दिने, पसल बाहिर स्यानिटाइजर वा हात धुने व्यवस्था गर्ने र लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसि बैठकले सो निर्णय गरेको हो ।  बैठकले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाको परिधिभित्र रहेर स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गरी डिस्टेन्स लर्निङ जस्ता कक्षा सञ्चालन गर्न दिने कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई बढीमा १५ जना सम्मको समूह बनाएर सिफ्ट मिलाएर पढाउन सकिनेछ ।

यसैगरी बैठकले नजिकिँदै गरेको दसैँ, तिहार, छठ लगायत चाडपर्व आआफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । मेला, जात्रा, भजन, कीर्तन नगर्न तथा बिना काम घरबाट बाहिर ननिस्कन र समूहमा हिँड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।

12