काठमाडौं : चिकित्सा शिक्षा सुधारका विभिन्‍न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा. केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो । सरकार र डा. केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शनिबार राति सहमति भए पनि डा. केसीले आइतबार ९.३० बजे मात्र सत्याग्रह तोड्ने सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सहमतिमा ८ बुँदा भए पनि मुख्य बुँदा भने डा. केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने उल्लेख छ ।

डा. केसीको सत्याग्रहको २४ औँ दिन बुधबार मात्र चौतर्फी विरोध आएपछि सरकारले वार्ता समिति बनाएको थियो । तर सत्याग्रहको २५ औँ दिन अर्थात बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो । शुक्रबारको वार्ता लगत्तै डा. केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो ।

डा. केसीले गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए भने सत्याग्रहको ९ औँ दिन काठमाडौं सत्याग्रहका लागि आउँदा प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो तर विरोध भएपछि सोही दिन उनलाई त्रिवि शिक्षण अस्पताल जान दिएको थियो ।