धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउन सोमबार देखि अनलाइनबाट टिकेटिङ सेवा सुरु हुने भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार साँझ एक सूचना जारी गरी सो जानकारी गराएको हो ।

प्रतिष्ठानको ओपिडीमा भिड बढेको र कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले सोमबार देखि अनलाइनबाट बिरामीले आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ । जसको लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर BPKIHS एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ ।

आफूलाई चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ती/E-Sewa/IME Pay बाट तोकिएको रकम तिर्नुपर्नेछ ।

बिहान ८ः०० बजे भन्दा अगाडि अनलाइन टिकट काटेमा सोही दिन र सो समय पछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुनेछ । बिरामीले सम्बन्धित विभागको ओपिडी भित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिई सम्बन्धित चिकित्सककोमा जानु पर्ने हुन्छ ।

हाल दैनिक नियमित ओपिडीको लागि मात्र यो सुविधा उपलब्ध हुनेछ । प्राइभेट ओपिडीको लागि पनि क्रमशः उपलब्ध गराइने पनि सूचनामा जानकारी दिइएको छ ।

हरेक विभागको ओपिडीका कार्य गर्ने सहयोगी कर्मचारीहरूले बिरामी दर्ता काउन्टरबाट अनलाइन दर्ता भएको बिरामीको ओपिडी कार्ड सोही दिन ९ बजे भित्र संकलन गरी लैजानु पर्ने हुनाले सो अनुसार गर्न सूचनामा उल्लेख गरिएको छ ।

BP-Suchana