धरान : धरानमा असाेज २० गते स्कुटर र मिनी ट्याक्टर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा धरान-१४ का गोकुल तामाङको मृत्यु भएको थियो । सोही घटनाका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेर म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

धरान-५ बस्ने ४८ वर्षीय ट्याक्टर चालक तुलसी विश्वकर्मालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको लागि सवारी ज्यान मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

मृतकका परिवारले धरान इलाका प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा स्कुटर चालक सुस्मन मैनालीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ट्राफिक हिस्ट्री (गाडीको पोजिसन) हेरेर तथा टायरहरूको डाम र प्रत्यक्षदर्शीका आधारमा मिनी ट्याक्टरले नै दुर्घटना गराएको हुँदा स्कुटर चालक मैनालीलाई छाडिसकेको ओलीले बताए ।

प्रहरीका अनुसार एकै दिशातर्फ गइरहेका को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर एक आपसमा ठोक्किएका थिए ।

गत २० गते मंगलबार बिहान करिब १० बजे धरान-१५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका धरान-१४ का गोकुल तामाङको मृत्यु भएको हो ।

तामाङको पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते बनेका तामाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।