धरान : धरान र बराहक्षेत्रका दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धरान २ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार धरान २ का ८९ वर्षीय पुरुषको उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

यसै गरी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको बराहक्षेत्र नगरपालिका ५ का ३७ वर्षका एक पुरुषको उपचाको क्रममा आज बिहान करिब ७ बजे तिर मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् ।

शनिवार बिपि प्रतिष्ठान धानमा ती पुरुषको स्वाब परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । मृतकका पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनी मिर्गौला सम्बन्धीको रोगबाट ग्रसित थिए ।

दुवै मिर्गौला फेल भएका उनको मिर्गौला प्रत्यारोपण तयारी भइरहेको थियो । उनलाई अचानक सास फेर्न गाह्रो भएजस्तो भएपछि बिपि प्रतिष्ठान पुर्‍याएको थियो ।

त्याहा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि उनलाई आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।